• Saturday 25th of July 2026

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै


  • गोकर्णेश्वर अनलाइन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गर्नुभएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभयो ।

छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि शुरु भएको छ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोक्नुुभएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology