• Saturday 25th of July 2026

भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री


  • गोकर्णेश्वर अनलाइन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनुभयो । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उहाँले भन्नुभयो, “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।” सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताउनुभयो । नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ । उहाँले पार्टी स्थायी कमिटीमा एमसिसीका कुनकुन बुंँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले स्वास्थ्य सङ्कटमा परेका जनतालाइ राहत पु-याउने सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले आफूले केही दिन पहिले एशिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो सङ्केत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने छ ।

यो पनि हेर्नुहोस:

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology