• Monday 27th of July 2026

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो


  • गोकर्णेश्वर अनलाइन

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९९७ जनामा पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४५८ सङ्क्रमित रहेका छन् । सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा छ, वीरेन्द्रनगर होम आइसोलेसनमा २०७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा दुई, बरहाताल आइसोलेसनमा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै देलेखमा २९ सङ्क्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुई, दुल्लु अस्पतालमा एक, भैरवी आइसोलेसन सेन्टरमा तीन, चामुण्डा आइसोलेसन सेन्टरमा पाँच, आठबिस आइसोलेसन सेन्टरमा १४ ठाटीकाँध आइसोलेसन सेन्टरमा चार रहेका छन् ।

जारजरकोट अस्पतालमा दुई र नलगाड आइसोलेसन सेन्टरमा तीन गरेर जाजरकोटमा पाँच सङ्क्रमित रहेका छन् । सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुई जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जना सङ्क्रमित रहेका छन् । यस्तै मुगुमा एक, डोल्पामा चार सङ्क्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology