• Monday 27th of July 2026

बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर– १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको हो । उहाँ पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो ।

उहाँको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको थियो । तिनको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology