• Tuesday 28th of July 2026

थप एक हजार ९११ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ९४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस सङ्क्रमण भई घर फर्किनेको सङ्ख्या ९६१ जना रहेको छ ।

योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ रहेको छ जसमा १० पुरुष र एक महिला छन् । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ५०९ पुगेको छ । मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २१ हजार ८३० जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७६१ छन् । मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology