• Saturday 25th of July 2026

हरेक क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मन्त्री भट्ट


  • गोकर्णेश्वर अनलाइन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले भन्नुुभयो, “अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ”, मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए यहाँ उद्योग नै स्थापना गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।”

दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो । यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो । गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology