• Sunday 26th of July 2026

भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द


  • गोकर्णेश्वर अनलाइन

तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो । कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन् ।

व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्

तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ । कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ । व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पु¥याएको व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३०० प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएकोÞ छ ।

उत्पादन वृद्धि गर्न माटो परीक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधावापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् । उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउने तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गर्नुभएको हो । वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले रु २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

वडाभित्र नै दक्ष जनशक्ति तयार गरी बाह्रै महिना माटो परीक्षण एवं माटोसम्बन्धी परामर्श सेवा दिन दुई कृषकलाई दक्ष बनाइने उहाँले जानकारी दिनुभयो । “दुई कृषकलाई माटो परीक्षण तालिममा पठाउँछौँ, तालिम लिएर आएपछि उहाँहरुले वडाबाट बाह्रै महिना माटो परीक्षण र परामर्श सेवा दिनुहुनेछ”, रेग्मीले भन्नुभयो ।

वडा कार्यालयले भरतपुरस्थित मातृभूमि कृषि सामग्री उद्योगको सहयोगमा माटो व्यवस्थापन तालिम एवं माटो परीक्षण सम्पन्न गरेको छ । वडाभित्रका विभिन्न ३० स्थानको माटो परीक्षण गर्दा माटोको गुणस्तर योग्य देखिएको छ । “पहिलो चरणमा आलुखेती हुने ठाउँको माटो परीक्षण ग¥यौँ, उक्त माटो आलुखेतीका लागि योग्य देखिएको छ”, उहाँले भन्नुभयो, “क्रमशः अन्य ठाउँका पनि माटो परीक्षण गर्छौँ ।”

वडाभित्र १० हेक्टर जमिन रहेकामा चार हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । अहिले धानको सिजन भएकाले बाँकी ठाउँको माटो परीक्षण गर्न नसकिएको रेग्मीले जानकारी दिनुभयो । “माटो परीक्षणले कुन ठाउँको माटो कस्तो छ र त्यहाँ कस्तो खेती गर्ने भन्नेबारेमा पत्ता लगाउन सहज हुनेछ”, उहाँले भन्नुभयो, “माटो परीक्षणकै आधारमा कहाँ–कहाँ कुन खेती गर्ने भन्नेबारेमा कृषकलाई सुझाव दिनेछौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology