• Sunday 26th of July 2026

ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत


  • गोकर्णेश्वर अनलाइन

गत भदौ १७ गतेको बाढीपहिरामा परेर परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मनत्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको हो ।

बाढीपहिरामा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई रु दुई लाख, एकभन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिव्यक्ति÷बेपत्ता पहिलो मृतक वा बेपत्ताका परिवारलाई रु दुई लाखमा रु एक लाख थप गरेर रु तीन लाख उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै बाढीपहिराका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि रु १५ हजारका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो । “जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उसलाई तत्कालका लागि समस्या समाधानका लागि रु १५ हजार दियौँ”, न्यौपानेले भन्नुभयोे, “निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलव्ध हुन्छ ।”

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरामा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ । “वयस्कहरुलाई नगद नै दियौँ, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौँ”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भन्नुभयोे, “बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।”

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो । पहिरामा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिराले १२७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कनुसार बस्नै नमिल्ने गरी भत्केका सबैघरको सूची गृह मन्त्रालय पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology