• Tuesday 28th of July 2026

बैतडीका नौ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बैतडीका नौवटा स्थानीय तहमा पाँच श्ययाको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ ।

कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच श्ययाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका नौवटा स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सरकारले जिल्लामा बजेट समेत पठाइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको उहाँको भनाइ छ ।

बैतडीमा दशरथचन्द नगरपालिकाबाहेक सबै स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । “कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्थानीयस्तरका नागरिकलाई सजिलो होस् भनेर अस्थायी कोभिड अस्पताल बन्न लागेका हुन् । स्थानीय तहहरुले यी अस्पतालको व्यवस्थापन गर्नेछन्”, प्रमुख भट्टले भन्नुभयो, “तीन महिनाका लागि मात्रै अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने छन् ।”

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको समेत माग गरिसकेका छन् ।

ती अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको तीन महिनाका लागि दरबन्दी रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा रु पाँच लाख, औषधिका लागि रु ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत रु चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

जिल्लाको पाटन नगरपालिकाले पनि केही दिनभित्रै जनशक्ति माग गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राथमिक स्वास्थ्य केन्द्रमै पाँच श्ययाको अस्थायी कोभिड अस्पताल निर्माणका लागि कार्यपालिकाले निर्णय गरिसकेको छ । केही दिनभित्रै जनशक्ति माग गरेर अस्पताल सञ्चालन गरिनेछ ।”

यस्तै सिगास गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिका लागि आवेदन आह्वान गरिसकेका छौँ । छिट्टै कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउनेछौँ ।”

केही स्थानीय तहले भने अझै पनि अस्पताल सञ्चालनको तयारी गर्न सकेका छैनन् । कोरोना भाइरसका जटिल बिरामीलाई अस्थायी कोभिड अस्पतालमा उपचार गरिने बताइएको छ । बैतडीमा हालसम्म ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये २० जना सक्रिय सङ्क्रमित छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology