• Monday 27th of July 2026

खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन गाह्रो, किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ ।

पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बताउनुभयो ।

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताउनुभयो । “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उहाँले भन्नुभयो, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष बिक्री नभएर शहर झारियो तैपनि किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताउनुभयो ।

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ ।

ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा रु सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।

कोभिड–१९ कारण होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टेलगायत पर्यटन क्षेत्र ठप्प हुनुलगायत कारणले मासु खपत घट्दा यो समस्या आएको हुनसक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो ।

आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु व्यवसाय प्रभावित भएको हुन सक्ने उहाँको भनाइ छ ।

मासु व्यवसायी खुशी :

किसानलाई खसीबोका बिक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा पुगेको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौलीका मासु व्यवसायीको भनाइ छ ।

आफुले चाहेको मूल्यमा यही नै खसीबोका पाउन थालेपछि सो कार्यका लागि गाउँ जान छाडेको दमौलीस्थित केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “खसीबोका खोज्न गाउँ–गाउँ डुल्नुपथ्र्यो । अहिले किसानले पसलमै गाउँको मूल्यमा ल्याइदिएपछि व्यवसाय सञ्चालनमा सहज भएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology