• Monday 27th of July 2026

सालको पात बेच्ने ‘भाइरल आमा’लाई सहयोग


  • गोकर्णेश्वर अनलाइन

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।

उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उहाँलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उहाँ दमौली बजार आसपास सालको पात बेच्न हिँड्नुहुन्छ । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो, “गुजारा गर्न सालको पात बेच्छु ।”

व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उहाँको दैनिकी हो । दिनमा तीनचारवटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको रु ५० सम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

फेसबुकमा देखेपछि सहयोग

दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्बिर पोष्ट गर्नुभएपछि उहाँलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत दवाडीलाई दुई बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकँुडा सहयोग गरिएको छ ।

उक्त सामग्री फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतले शुक्रबार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गर्नुभयो । सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउन्डेसनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दशैँको पूर्वसन्ध्यामा खाद्यान्नलगायत सामग्री पाएपछि दवाडी खुशी हुनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology