• Monday 27th of July 2026

दशैतिहारको मौका छोपी बजारमा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने अखाद्य बस्तु छ्याप–छ्याप्ती


  • गोकर्णेश्वर अनलाइन

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ ।
सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाले कटुञ्जे, चुनदेवी, पाण्डुबजार, सूर्यविनायकक्षेत्रका म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेष्ट मिनिमार्ट, एजबी स्टोर, युनिक स्टोर, सुष्टि सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो । यस्तै सूनपा–४ दक्षिणबाराहीदेखि हँुदै गाम्चासम्मका आरके जनरल स्टोर, जितेन्द्र कोल्ड स्टोर, राजु किराना पसल, शुभमाकर ट्रेडर्स, राधेश्याम स्टोर, बालकृष्ण स्टोर, ग्रिन मार्ट, पाथीभरा किराना स्टोर, जेएलपी स्टोर, लक्ष्मीकृष्ण स्टोर, रेड एप्रोन मार्टमा अनुगमन भएको थियो । अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।
उहाँले बालकोट क्षेत्रका योर च्वाईस लिक्वैर्स स्टोर, लिपी शब्द स्टोर, स्वतिका ट्रेडर्स, सिजन किराना स्टोर, सापकोटा ग्रोसरी, दुर्गा हिमालय स्टोर, मानसी जनरल स्टोर, उग्रचण्डी स्टोर, कृष्ण भण्डार घरलगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताउनुभयो ।
अनुगमनका क्रममा जफत गरिएका करिब रु. ३० हजार मूल्य बराबरको सामग्री स्थानीयवासीको रोहबरमा नगरपालिकाले नष्ट गरेको छ । संयोजक बस्नेतले अनुगमन गर्ने अधिकार स्थानीय सरकारसँग भएपनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गर्नुभयो ।
भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजारमा अखाद्य बस्तु र कुहिएका तथा सडेगलेको बिग्रिएको मासु समेत बिक्री गरेको पाइएको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भएको बताउदै गल्ती गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाले प्रशासनलाई पत्र पठाए प्रशासनले कारबाही गर्ने जनाउनुभयो । उहाँले नगरपालिकाले अनुगमनको निचोडसहित लिखित जानकारी दिएमा कारबाहीका लागि जरिवानासहितको कारबाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology