• Monday 27th of July 2026

कैलालीको गौरीगङ्गा नगरपालिकाका वडाध्यक्षको कोरोनाबाट मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिनुभयो । बिरामी हुनु भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँ तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उहाँका स्वकीय सचिव जङ्गबहादुर विकले बताउनुभयो ।

“मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेपनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ”, विकले भन्नुभयो, “धनगढीमा होम आइसोलेशनमा बसिरहनुभएका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।”

मन्त्री शाहसहित उहाँकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology