• Tuesday 28th of July 2026

त्रिशूली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम


  • गोकर्णेश्वर अनलाइन

त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू हुने भएको छ । बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी भुक्तानीको लागी स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया र त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा.सुनिता केसीले स्वास्थ्य बीमा बोर्डको ‘सेवा सम्झौता पत्र’मा हस्ताक्षर गर्नुभएको छ ।

आगामी मङ्सिर १ गतेदेखि लागू हुने बीमा कार्यक्रमको लागी दर्ता एवम् सोधपुछ कार्यक्रमसम्बन्धि जानकारी दिनुपर्ने, बिरामीले दाबी गरेका प्रमाणलाई सूचना प्रणालीमा अध्यावधिक गर्नुपर्ने, अस्पतालको परिसरमा औषधि वितरण कक्षको व्यावस्थापन गर्ने, बीमा गरेकालाई तोकिएको सेवासहित औषधिको सरल रुपमा उपलब्ध गराउनुपर्ने लगायतको शर्त उल्लेख गरिएको छ । सम्झौता पाँच वर्षको लागी गरिएको छ ।

‘स्वास्थ्य बीमा कार्यक्रम’को लागी न्यूनतम पाँचजनाको परिवार भएमा एक वर्षको रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति रु ४२५ थपेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यावस्था मिलाइएको त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा.केसीले जानकारी दिनुभयो ।

उहाँको अनुसार ‘स्वास्थ्य बीमा कार्यक्रम’को बीमाको दायरामा समावेश भएका सदस्यले एक वर्षलाई प्याकेजमा सेवा पाउने व्यावस्था रहेको छ । अस्पतालबाट प्रवाह हुने अधिकांश सेवादेखि औषधि खरिदसम्ममा बीमा कार्यक्रममा समावेश भएका सदस्यले लाभ लिन पाउने भएकाले स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय र प्रभावकारी मानिएको छ । त्रिशूली अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहमा बीमा कार्यक्रमा समावेश भएकाले गरीब तथा विपन्न, ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिदाँ हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम लोकप्रिय हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology