• Tuesday 28th of July 2026

कोरोना सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु


  • गोकर्णेश्वर अनलाइन

सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब सङ्कलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । उहाँको मृत्यु भइसकेपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति रिखाराम पुनले जानकारी दिनुभयो ।

कोरोनाबाट सङ्क्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब सङ्कलन गरी पिसिआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो ।

तिहार नजीकै आइरहेको बेला बजारमा अत्यधिक भीडभाड बढिरहेको र समुदायमा कोरोना सङ्क्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । “तिहार नजीकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भीडभाड अत्यधिक बढेको छ, कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु”, अध्यक्ष बुढाथोकीले भन्नुभयो ।

हालसम्म सल्यानमा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology