• Monday 27th of July 2026

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान


  • गोकर्णेश्वर अनलाइन

बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद रु एक लाख र उनले लगाएको करिब रु पाँच लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो । जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र रु एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडाँैबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology