• Saturday 25th of July 2026

कुनै पनि हालतमा पार्टी फुट्न दिन्नौं : मन्त्री भट्टराई


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाउनुभयो ।
उहाँले भन्नुभयो, “नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन ।” पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्राईले आग्रह गर्नुभयो । नेताहरुले आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले पार्टी एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
मापसे परीक्षण यन्त्र पठाइने
मन्त्र भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने यन्त्र खरीद गरेर पठाइने बताउनुभएको छ । मैवाखोला गाउँपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले शिक्षक नियमित रुपमा विद्यालय नआउने र आए पनि समयमै नआउने तथा मापसे गरेर आउने गुनासो आएको बताउँदै भन्नुभयो, “यदि मापसे परीक्षण गर्ने उपकरण भए विद्यालय सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेशिन खरीद गरेर पठाइदिन्छु ।”उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।

मन्त्री भट्टराईले सबै वडामा दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन पु-याइने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । उहाँले प्रत्येक गाउँपालिकामा एउटा खेल मैदान निर्माणका लागि जग्गा तयार गरिएमा बजेटको आवश्यक पहल गरिने आश्वासन दिनुभयो । मन्त्री भट्टराई गत शनिबार देखि पालिकास्तरीय कार्यक्रम लिएर गृह जिल्ला ताप्लेजुङमा हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology