• Monday 27th of July 2026

ब्राउनसुगरसहित दुई युवा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा३८प ३८८५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद रु ८१ हजार १००, भारु ११० र दुई थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

श्रीमती हत्याका अभियुक्त कारागार चलान

श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृतावस्थामा फेला परेकी थिइन् । घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासी, छरछिमेकका व्यक्तिसँग गरिएको कुराकानी र शव परीक्षणको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो ।

अदालतबाट असोज १६ गते म्याद थप गरी थप अनुसन्धान भई रहेकामा बिहीबार झापा अदालतको आदेशले भण्डारीलाई पुर्पक्षका लागि जिल्ला कारागार चन्द्रगढी चलान गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology