• Thursday 30th of July 2026

आइसियूमा जनशक्ति अभाव


  • गोकर्णेश्वर अनलाइन

धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आइसियू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन ।

अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आइसियूमा खटिनुपरेको छ । आइसियू हेर्ने चिकित्सक÷नर्सलाई आइसोलेसनकक्षकोसमेत जिम्मेवारी छ । तीन श्य्याको आइसियूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउनुहुन्छ । “अहिले जम्मा पाँच÷छ जना नर्स हुनुहुन्छ, आइसोलेशन र आइसियू दुवैतिर उहाँहरु नै खटिनुपरेको छ”, उहाँले भन्नुभयो । तीन चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले यसभन्दा बढी कार्यबोझ उठाउनु पर्ने अवस्था छ । गम्भीर लक्षणसहितका सङ्क्रमित बढ्ने र धेरैलाई आइसियू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ ।

“पहिलेदेखि नै दरबन्दीअनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो, “आइसियूका लागि विशेषज्ञसहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौँ ।” उहाँले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइसियूका लागि जनशक्ति माग गरिएको बताउनुभयो ।

आइसियू सेवाका लागि करारमा पाँच नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले रु पाँचलाख उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उहाँको भनाइ छ । आइसियूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आइसियूका लागि थप जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रुपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले तत्काललाई जनशक्तिकै कारण आइसियू सेवा प्रभावित हुने अवस्था नरहेपनि क्षमता भने बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो । “हाम्रो आइसियूमा बिरामीको ठूलो चाप पनि छैन । सधैं यही अवस्था नरहन सक्छ, हामीले जनशक्ति र उपकरण थप्नैपर्छ”, उहाँले भन्नुभयो ।

सदस्य शर्माले चिकित्सकको ‘टिम’ बनाएर आइसियूमा खटाइको र थप नर्स र सहयोगी राख्न सकेमा सेवा थप सहज हुने बताउनुभयो । उहाँले आइसोलेसनकक्षमा भने जनशक्ति व्यस्थापनमा केही जटिलता देखिएको र सुदृढ व्यवस्थापनसँगै स्तरीय उपचार सेवाका लागि समिति क्रियाशिल रहेको जानकारी दिनुभयो ।

वर्षौँको प्रयासपछि गत वैशाखमा अस्पतालले आइसियू सेवा शुरु गरेको थियो । कोरोना महामारीले गर्दा आइसियू छिटो सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापनदेखि सरकारी निकायले सक्रियता बढाएका थिए । आइसियूका लागि सङ्घले रु. एक करोड र प्रदेश सरकारले रु. ६० लाख बजेट उपलब्ध गराएको थियो ।

कोरोनाका गम्भीर बिरामीलाई लक्षित गरी अस्पतालमा दुई भेन्टिलेटर पनि सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्ति व्यवस्थापन हुन सकेमा थपिएका सेवाको प्रभावकारिता अझ बढ्ने छ । अस्पतालमा अहिले फिजिसियन तथा महिला तथा प्रसूति, बालरोग, मानसिक, नाक, कान, घाँटीलगायत १४ जना विशेषज्ञ चिकित्सक छन् ।

दश मेडिकल अधिकृतमध्ये केही सेवा अवधि पूरा गरेर बिदा हुने तरखरमा छन् । अस्पतालमा १६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी छ । अस्पताललाई दुई सय श्य्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने प्रदेश सरकारले बजेटमार्फत घोषणा गरिसकेको छ । यसका लागि अहिलेको भौतिक संरचना अपुग हुने भएपछि अस्पताल व्यवस्थापन जग्गाको खोजीमा लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology