• Saturday 25th of July 2026

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा


  • गोकर्णेश्वर अनलाइन

यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार हाल सो क्षेत्र तेजपात उत्पादनमा अग्रणी बन्न पुगेको छ ।

सरकारी र निजी क्षेत्रको संरक्षणमा रहेका वनमा तेजपात खेती हुँदै आएको छ । रौता क्षेत्र जिल्लामै बढी तेजपात उत्पादन गर्ने क्षेत्र भएको जिल्ला तेजपात व्यवसायी तथा उद्यमी भरत थापा बताउनुहुन्छ । डिभिजन वन कार्यालय गाईघाटका अनुसार कूल तेजपात उत्पादनमध्ये वार्षिक ७० प्रतिशतसम्म उत्पादन हुने गरेका कारण रौतामा तेजपात उत्पादन तीव्र वृद्धि भइरहेको छ । रौता बाहेक उदयपुर गढीको भलायाडाँडा, डुम्रे, तावाश्री, कटारीको सिरिसे, हर्देनी, मयङ्खु, ताप्ली, चौदण्डीको सिद्धिपुर, बबलामा समेत व्यावसायिक रुपमा तेजपात उत्पादन हुँदै आएको छ ।

अहिले गाउँपालिकाको मुर्कुची, कोप्चे, नामन्त, मलबासे, माझखर्क, पाँबु, बोलुङखा, आँपटार, सल्ले, इनामे, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउनुहुन्छ । अहिले आएर गाउँपालिका क्षेत्रबाट मात्र वार्षिक रु ६ करोडभन्दा बढी मूल्यको तेजपात बिक्री हुने गरेको गाउँपालिकाका अध्यक्ष खड्का बताउनुहुन्छ । लामो समयदेखि व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको भए किसानले उचित मूल्य नपाउँदा वर्षेनी घाटा सहेर बिक्री गर्न बाध्य हुनुपरेको खम्ब मस्र्याङ्गी मगरको गुनासो छ ।

यो क्षेत्र जिल्लाको पहिलो तेजपात जोन क्षेत्रसमेत बनेको रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो । जिल्लाको पहिलो उत्कृष्ट उत्पादन हुने क्षेत्र बन्न पुगे पनि यस क्षेत्रका किसानको तेजपातको मूल्य निर्धारण बिचौलिया र खरिदकर्ता व्यापारीले गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादक किसानले भने लामो समयदेखि उचित मूल्य नपाउँदा अन्याय सहँदै आउन परेको पाँबुका दीपबहादुर मगर बताउनुहुन्छ ।

यस क्षेत्रमा उत्पादित तेजपात विराटनगर हुँदै जोगमनी तथा सिरहाको लहान हुँदै वीरगन्ज भएर भारत निकासी हुँदै आएको छ । दश वर्षदेखि यता गाउँघरमा तेजपातको मूल्य रु ३०–४० प्रतिकेजी रहेको र अन्यत्र वीरगन्ज तथा विराटनगरमा रु ८० देखि १०० प्रतिकेजी मूल्यमा हुने गरेको छ ।

रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार उत्पादन मूल्य निर्धारण गर्न गाउँपालिका नै विभिन्न व्यापारीसँग पहल शुरु गरिएको छ । उचित मूल्य निर्धारण गर्न पहल गर्ने उहाँ बताउनुहुन्छ । मुर्कुचीका उत्पादक किसान हर्कबहादुर मगर भन्नुहुन्छ, “रौता तेजपातको पहिलो जोन बन्न पुगेको छ, यस क्षेत्रका ८० प्रतिशत किसानले व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् भने अझै वर्षेनी खेतीमा वृद्धि हुँदै गइरहेको छ ।” स्थानीय सरकार र सम्बन्धित निकायले बिचौलियाको चलखेल नियन्त्रण गर्न सके वार्षिक रु दश करोड बढी मूल्यको तेजपात निर्यात गर्न सकिने मगरको दावी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology