• Saturday 25th of July 2026

औँसा प्रकोपले सुन्तला सखाप


  • गोकर्णेश्वर अनलाइन

करीब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आउनुभएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तीलबहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित हुनुहुन्छ । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै बाटो बन्द हुने भन्दै कार्की चिन्तामा पर्नुभएको हो ।

“करीब ३०० भन्दा बढी बोट सुन्तला लगाएको छु, भदौदेखि दाना झरेर अहिले पाक्ने बेला हुँदा बोटमा १५ प्रतिशत पनि दाना देखिँदैन, आम्दानीको बाटो नै बन्द भयो, नजीकको सरकारले पनि हेरेन”, कार्कीले भन्नुभयो । उहाँका अनुसार विगत ५÷६ वर्षदेखि सुन्तलामा औँसा पर्ने र नपाक्दै पहेँलो भएर झर्ने समस्या छ । रोग नियन्त्रणका लागि कतैबाट सहयोग नभएकाले आफैँले विषादी किनेर लगाउने गरेको तर समाधान हुन नसकेको उहाँले बताउनुभयो । “पहिले कृषि कार्यालय हुँदा सामान्यतया सहयोग हुन्थ्यो, अहिले नजीकको सरकार छ भन्छन्, तर अहिलेसम्म नजिकको सरकारबाट हामी किसानलाई कुनै सहयोग छैन, प्राविधिकहरुसँग भेटेर कुरा गर्दा हामी जान भ्याउँदैनाँै भन्छन्”, उहाँले भन्नुभयो ।

यता फुङलिङ नगरपालिका–२ टार गाउँका भक्तबहादुर तोलाङको पनि समस्या उस्तै छ । केही वर्षयता व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आउनुभएका भक्तबहादुरलाई सुन्तला खेती निल्नु न ओकल्नु भने जस्तै भएको छ । “केही होला कि भनेर बारी मासेर सुन्तला रोपेँ, तर बर्सेनी पहेँलो हुँदै झरेर जान्छ, पोहोर सालभन्दा यो वर्ष धेरै झ¥यो, उपाय नहुने भयो”, उहाँले भन्नुभयो । यसरी सुन्तलामा आएको प्रकोप झन् बढ्दै जाँदा र यसको नियन्त्रणमा हालसम्म कतैबाट सहयोग नहुँदा सुन्तला खेती गर्ने किसान समस्यामा छन् । उनीहरुका अनुसार दाना लाग्दैदेखि पहेँलो हुँदै क्रमशः झर्ने गरेको छ । पाक्ने याम मङ्सिर, पुससम्ममा झरेको सुन्तलाले भुइँ ढाक्ने गरेको छ भने बोटमा १५÷२० प्रतिशत पनि दाना नरहने उनीहरुको भनाइ छ ।

जिल्लाको फुङलिङ नगरपालिकासहित पाथीभरा याङवरक, आठराई त्रिवेणी गाउँपालिकालगायत केही स्थानमा सुन्तला खेती गरिँदै आएको छ । सुन्तलामा मात्रै नभई जुनार, कागती, ज्यामिरलगायत फलफूलमा यस्तो सङ्क्रमण फैलिएको छ । सुन्तलासँगै लगाइएको अलैँची खेतीबाट समेत किसान सन्तुष्ट छैनन् । अन्य अन्नबाली उत्पादन हुने खेतबारी मासेर सुन्तला र अलैँची खेती गरेका किसान दुवै खेतीबाट निराश छन् । सुन्तलामा रोगकीरोको सङ्क्रमण र अलैँचीले राम्रो मूल्य नपाएपछि निराश बनेका हुन् ।

बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रणबाहिर जान सक्ने खतरा भएकाले झरेका फल व्यवस्थित तरिकाले व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको कृषि प्राविधिक बताउँछन् । तर रोग कीरोको नियन्त्रण र रोगकै कारण झरेका सुन्तलाको व्यवस्थापनमा भने प्रत्यक्ष सहयोग कतैबाट नहुने गरेकामा किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology