• Saturday 25th of July 2026

प्याजका बिरुवा अभाव


  • गोकर्णेश्वर अनलाइन

गत वर्ष प्याजका बिरुवा बिक्री गरेर रु पाँच लाख मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापालाई यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रीबाट आएको रकम बीउ, मल र बिरुवाका लागि ब्याड तयार गर्न भएको खर्च हिसाब गर्दा उहाँको लगानी मुस्किलले उठ्यो ।

बिरुवा बिक्रीका लागि तयार हुँदा बिहानदेखि बेलुकासम्म थापाको घरमा भीड लाग्यो । ठूलो ब्याडमा तयार भएका झण्डै दुई लाख बिरुवा थापाले दिनरात गरेर दुई दिनमा सक्नुभयो । ब्याड राख्ने बेलामा बीउको अभाव र लगाएको बीउसमेत राम्रोसँग नउम्रिएकाले थापाले यो वर्ष प्याजका बिरुवामा क्षति ब्यहोर्नु परेको हो ।

“यो वर्ष लगानी राम्रै गरेर मुनाफा पनि बढाउने सोच थियो, तर समयले धोका दियो”, थापाले भन्नुभयो, “नत बचन दिएकालाई बिरुवा पु¥याउन सकियो, न आफूले चिताएको जस्तो कमाइ नै भयो ।” उहाँले लामो समयदेखि रामरेखामा जग्गा भाडामा लिएर तरकारीका बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आउनुभएको छ ।

व्यावसायिक बिरुवा उत्पादकको रुपमा परिचय बनाएका थापाको शेरमाई कृषि, वन तथा पशुविकास फार्म छ । “बीउ उत्पादन हुने समयमा भएको अधिक वर्षाले यो वर्ष बजारमा बीउ नै पाइएन”, थापाले भन्नुभयो, “आउँदो असारमा फसल दिने प्याजको उत्पादन पनि घट्ने देखेको छु ।”

यस्तै, जैमिनी नगरपालिका–१० राङ्खानीका मित्र थापाले पनि प्याजका बिरुवा उत्पादन र बिक्री वितरण गर्न थालेको पाँच वर्ष भयो । हरेक वर्ष दुई/तीन लाख मुनाफा कमाउने उहाँले प्याजका बिरुवाबाटै निकाल्ने गरेको तर यो वर्ष भने मित्रलाई पनि लगानी उठाउन कठिन भयो । मित्रको पनि बीउ र बिरुवामा नै समस्या देखापरेकाले उत्पादन कम भएको हो ।

“उम्रिएका बिरुवामासमेत डडुवा लाग्यो, आधा बीउ उम्रिएन”, थापाले भन्नुभयो, “नासी क्रेट जातको बीउ लगाएको, राम्रो हुन्छ भनेको नराम्रो भयो ।” उहाँले यो वर्ष दुई लाख बिरुवा मात्रै आफ्नो फार्ममा उत्पादन भएको बताउनुभयो । बिरुवाको माग अत्याधिक रहेको भए पनि सबैलाई उपलव्ध गराउन नसकेको उहाँको भनाइ छ ।

व्यावसायिक किसानका जस्तै घरायसी प्रयोजनका लागि उत्पादन गर्दै आएका किसानले समेत यो वर्ष बीउ नपाउँदा बागलुङमा प्याजका बिरुवाको अभाव छ । गत वर्षमा भन्दा मूल्यवृद्धि भएको भए पनि बिरुवा नपाएका किसना बताउँछन् । गत वर्ष एक रुपैयाँमा पाँच वटाका दरले बागलुङमा प्याजका बिरुवाको कारोवार भएको थियो । यो वर्ष भने एक रुपैयाँका दुई वटा मात्रै बिक्री भएका छन् ।

कार्यालय जोड्ने सडक स्तरोन्नति

मध्यपहाडी लोकमार्गले फेरो हालेको काठेखोला गाउँपालिकामा कालोपत्र सडक देख्न गलकोट नगरपालिकाको सिमानामा पुग्नुपर्छ । लोकमार्गको घोडाबाँधे गलकोट खण्डको कालोपत्रका क्रममा भएको झण्डै एक किलोमिटर सडक कालोपत्रबाहेक गाउँका सर्वसाधारणले सुविधा पाउनेगरी काठेखोलामा पक्की सडक छैन ।

गाउँपालिकाले दुई वर्षदेखि आफ्नै पहलमा वडा कार्यालय जोड्ने सडकको कालोपत्र गर्ने योजना अघि सारेको भए पनि हालसम्म स्तरोन्नतिकै काम बाँकी थियो । पहिलो पटक चालू आर्थिक वर्षमा पालिका मुकाम वडा नं ६ को बिहुँसुल्डाँडा एक्लेफाँटदेखि वडा नं ७ रेश वडा कार्यालयसम्मको सडक कालोपत्रको काम थालिएको छ ।

गत आवमा कालोपत्रको योजनामा रहेको यो सडक कोरोना महामारीका कारण बजेट फिर्ता भएपछि काम हुनसकेको थिएन । चालू आवमा सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो ।

सुल्डाँडादेखि वडा कार्यालयतर्फको ५०० मिटर कालोपत्रको लागि तयारी अवस्थामा छ । बहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकामा पहिलो पटक सडक कालोपत्र थालिएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । सडक कालोपत्रको काम आचार्य जेभीले पाएको छ । रु ६ करोड ७१ लाखमा कालोपत्र सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । अहिले कालोपत्रको लागि आवश्यक सडक कटिङ फिलिङ, ग्याबिन, पर्खाल तथा नाली निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका सञ्चालक निर्मलज्योति आचार्यले जानकारी दिनुभयो ।

सडकको धेरै लामो खण्डभन्दा पनि बलियो र टिकाउ हुने पिच गर्ने योजनामा रहेको उहाँको भनाइ छ । चालू योजनाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालय नपुगे पनि आगामी वर्षको बजेटले अधुरो योजना पूरा हुने वडाध्यक्ष लामिछानेको भनाइ छ । रकम अभाव नभए आउँदो जेठ मसान्तसम्म कालोपत्रको काम सम्पन्न गर्ने निर्माण व्यवसायी आचार्यको भनाइ छ । “हामीलाई भुक्तानीको ग्यारेन्टी हुनुपर्छ काम जतिसक्दो छिटो गछौँ”, उहाँले भन्नुभयोे, “पालिकाको पहिलो कालोपत्र योजना भएको हुँदा बजेट अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ ।”

काठेखोलाले निर्वाचनको पाँच वर्षभित्र बिहुँ सुल्डाडाँदेखि प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ । प्रत्येक वडाको कार्यालयसम्मको सडक कालोपत्र गर्ने योजनाअनुसार डिपिआर बनाउने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । रेश र लेखानीको वडा कार्यालयसम्म जोड्ने सडकको कालोपत्र गर्ने काम गत वर्षदेखि शुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology