• Sunday 26th of July 2026

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो ।

उहाँले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गर्नुभयो । उहाँले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भीर असर पर्ने गरी थालिएको अस्थिरताको बिजारोपण रोकिने र अमूक व्यक्तिको मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिने दाबी गर्नुभयो ।

सरकार गठन भएको तीन वर्ष पनि नपुग्दै भण्डै एक हजार ५०० किलोमिटर सडक बनाएको, १०० भन्दा बढी पुल बनाएको, सुरुङमार्ग निर्माण प्रारम्भ गरेको, विद्युतीय सवारी सञ्चालनको आधार तयार पारेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरुआत गरेको, प्रदेशका विभिन्न अस्पतालमा आइसीयू तथा भेन्टिलेटरसहितको सेवा सञ्चालन गरेको, दुई हजारभन्दा बढी विद्यार्थी पढ्न सक्ने प्राविधिक विद्यालय निर्माण प्रारम्भ गरेको, जिल्ला जिल्लामा चक्लाबन्दी खेती शुरु गरी प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, किसानको उत्पादन सुरक्षित राख्न प्रदेशका सबै जिल्लामा शीतभण्डार निर्माण गरेको, अन्तर्राष्ट्रियस्तरको कृषि बजार स्थापनाको काम प्रारम्भ गरेको, दुग्ध तथा मासुजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, युवालाई उद्यमशील बनाउन उद्यमशीलता कार्यक्रम शुरु गरिएको, हजारौँ घरबारविहीन नागरिकलाई पक्का घरको व्यवस्था गरेको, ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेकोजस्ता मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँको आरोप थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology