• Thursday 30th of July 2026

कोरोनाविरुद्ध डाक्टरः ३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहनुभएको थियो ।

उहाँ गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । उहाँसँगै श्रीमान् र आमासमेत सङ्क्रमित हुनुभएको छ । अधिकारीले भन्नुभयो, “निकै गाह्रो हुँदो रहेछ ।” उहाँले टाउको, शरीर र छाती दुखेको बताउनुभयो । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भन्नुभयो “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology