• Thursday 30th of July 2026

दुवै मिर्गौलापीडित खत्रीको उपचारमा समस्या


  • गोकर्णेश्वर अनलाइन

दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो । हप्तामा दुईपटक मिर्गौलाको डायलासिस गराइरहनुभएका खत्रीका दुवै मिर्गाैला काम नलाग्ने भएको छ । “वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षदेखि डायलासिस गराइरहेको छु”, उहाँले भन्नुभयो । चार वर्षदेखि दुवै मिर्गौला फेल भएका उहाँले शुरुका करिब डेढ वर्ष आफ्नै खर्चमा डायलासिससहित सम्पूर्ण उपचार गराएपनि अहिले निःशुल्क डायलासिस गराउँदै आउनुभएको छ । घरभाडा, आउजाउ गाडीभाडा र औषधि गरी मासिक रु ३५ हजारभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।

काठमाडौँको स्वयम्भूस्थित एउटा घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आउनुभएका खत्रीको श्रीमती र दुई छोरा छन् । कान्छा सुदीप नेपाली सेनामा कार्यरत छन् भने जेठा आसन गाईघाटस्थित घरखेती सम्हाल्दै आएका छन् । नेपाली सेनाको युद्ध कवाज गण सीतापाइला काठमाडौँमा कार्यरत सुदीपले आफ्नो तलब तथा साहुको ऋण काढेर बुबाको उपचार गराइरहेको छ । “कान्छा छोराको तलब नहुने हो त यसअघि नै मरिसक्थे होला !” उहाँले भन्नुभयो, “दुवै मिर्गाैला काम नलाग्ने भएपछि कम्तीमा एउटा फेर्नैपर्ने हुँदोरहेछ ! फेर्नका लागि आफूहरुसँग खर्च छैन । कसैले सहयोग गरे एउटा फेरेर भए पनि बाँच्ने थिएँ ।”

मिर्गाैला फेर्नका लागि अहिलेसम्म आफूलाई कसैले सहयोग गर्ने टुङ्गो नभएको पीडित खत्रीले बताउनुभयो । “मिर्गाैला दिन आफन्त नै चाहिने रहेछ !”, उहाँले भन्नुभयो, “श्रीमती पनि बिरामी छिन् । उनी स्वस्थ रहेको भए दिने थिइ । छोराहरु आफैँले गरिखानुप¥यो ! यदि कसैले दिने नै भए पनि फेर्दा लाग्ने खर्च छैन ।”

घरखेती गरेर जीवन निर्वाह गर्दै आउनुभएका काका कृष्णको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको पीडित खत्रीका भतिज पत्रकार दिलीप खत्रीले बताउनुभयो । “काका सैनिक परिवारको भएकाले अस्पतालले वार्षिक रु एक लाख १० हजार बराबरको औषधिमा छुट दिने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले भाइ सुदीपको तलबले खर्च नधानेर घरखेतसमेत बिक्री गरिसक्नुभएको छ ।”

विसं २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यसमेत हुनुभएका कृष्ण व्यवसायका लागि उदयपुरको गाईघाट झर्नुभएको थियो । पछिल्लो समय गाईघाटस्थित त्रियुगा नगरपालिका–११ प्रगतिग्राममा बस्दै गर्दा बिरामी परेर उपचार गराइरहनुभएका कृष्णलाई बिरामी भएपछि अहिलेसम्म पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले भेटेका छैनन् ।

आफू बिरामी भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई पनि आफूले सम्पर्क नगरेको मिर्गाैला पीडित कृष्णले जानकारी दिनुभयो । “सहयोद्धाहरु सबैलाई सम्झन्छ !”, उहाँले भन्नुभयो, “अहिले आफूले आस्था राखेकै पार्टी सरकारमा छ । तर अहिलेसम्म सञ्चो÷बिसञ्चोको बारेमा कसैले सम्पर्क गरेर सोधेका छैनन् । दुःख लागेर आउँछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology