• Sunday 26th of July 2026

स्याउ बगैंचा व्यवस्थापन गर्न लागे किसान


  • गोकर्णेश्वर अनलाइन

खलङ्गा, ७ माघ (रासस) : जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताउनुभयो ।”

जिल्लामा खासगरी पुषदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगँैचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका कार्यालय प्रमुख नमराज भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन बगवानी अनुसन्धान केन्द्र राजिकोट कार्यालयको विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले गुठीचौर, तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखी स्याउ व्यवस्थापन गरेका छन् ।” ।

हाल जिल्लाभर सात लाख नर्सरी विरुवमा उत्पादन भएतापनि परियोजना कार्यन्वयन एकाई जुम्लाको प्राविधिक मापदण्डभित्रका गुणस्तर विरुवा करिब तीन लाख ५० हजार छ । विरुवा लगाउने किसाले सुपरजोनको मापदण्डले तोकेका विरुवा मात्र लगाउन सुपरजोन कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर विरुवा किनेर बगैंचा लगाउन किसानलाई जानकारी दिएको सो कार्यालयले जनाएको छ । विरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्काे स्याउको विरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक–एक मिटर लम्वाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।”

खाडल खन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रसायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

स्याउका विरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका विरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरीता महतले बताउनुभयो । सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका विरुवा रोपीसक्नुपर्ने जनाएको छ । उहाँले स्याउका विरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखी स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताउनुभयो ।

जिल्लामा चार हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाई जुम्लाले जनाएको छ । सो परियोजान अहिले जिल्लाको चार स्थानीय तहमा लागू भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology