• Monday 27th of July 2026

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताउनुभएको छ । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै भन्नुभयो, “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाउनुभयो । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताउनुभयो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाउनुभयो । पूर्वमन्त्री शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने जानकारी दिनुभयो ।

फुङलिङ– नेता नेपालले पूर्वनेकपा एमालेलाई १५ वर्ष आफूले नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामूली कार्यकर्ताको सङ्ज्ञा दिएर नजिस्काउन आग्रह गर्नुभयो ।

आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताउनुभयो ।

आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको जनाउँदै उहाँ अध्यक्ष नरहेको नेपालले जिकिर गर्नुभयो । जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको तर ओलीसँग त्यो सिद्धान्त नभएको नेपालले आरोप लगाउनुभयो ।

सत्यका पक्षमा लड्छु : भट्टराई

नेकपा दाहाल– नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पाथीभराको कोखबाट जन्मिएकाले आफू सधैँ सत्यको बाटामा हिँड्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने जिकिर गनुभयो । उहाँले केपी शर्मा ओलीले विसं २०७४ को निर्वाचनमा ताप्लेजुङ आएर मत मागे पनि अहिले उहाँले प्रतिनिधिसभा विघटन गरेर गरेकाले समर्थन गर्न नसकिएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology