• Thursday 30th of July 2026

लुम्बिनी खोप अभियानः ३९ हजारलाई लगाइँदै


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।

खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गर्नुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाउनुभएको छ । उहाँले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताउनुभयो । सो खोपको दोस्रो डोज पुनः २८ दिनपछि लगाइने उहाँले बताउनुभयो । डा खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र सफाइकर्मीलाई यो खोप लगाइने छ ।

अस्पतालका अन्य स्वास्थ्यकर्मीले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको छ । यो खोपको आज एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरुमा शुभारम्भ गरिएको समेत उहाँले जानकारी दिनुभयो । प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ ।

लुम्बिनी प्रदेशअन्तर्गत आज शुरु गरिएका केन्द्रहरुमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा केन्द्र तोकेर खोप सेवा शुरु गरिएको डा पौडेलले जानकारी दिनुभयो ।

खोपका बारेमा सर्वसाधारणमा रहेको आशङ्का हटाउन नै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप दिइएको समेत उहाँले बताउनुभयो । उहाँले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो मात्राको खोप लगाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा मङ्गलबारसम्मको तथ्याङ्कअनुसार २७ हजार १८ जनामा कोरोना सङ्क्रमण देखिएको यसमध्ये २६ हजार १०४ जना निको भएर घर फर्किएका छन् भने हाल ५२९ जना उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology