• Monday 27th of July 2026

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर


  • गोकर्णेश्वर अनलाइन

गलकोट, १८ माघ (रासस) : नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताउनुभयो । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको प्रकाश बताउनुहुन्छ ।

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उहाँको गुनासो छ । “ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रुपियाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो”, प्रकाशले भक्कानिँदै दुःखको फेहरिस्त सुनाउँदै भन्नुभयो, “हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।” दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजीकै ठेकदारले दिएको कोठामा बस्दै आएका नौ मजदूर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन् ।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उहाँको कथन छ । श्रीसले गाउँमै मजदूरीको काम गर्दै आए पनि दिनको रु एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताउनुभयो । लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । “पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्याँंै, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो”, उहाँले भन्नुभयो । बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बाङ्गेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उहाँ बताउनुहुन्छ ।

ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदूरलाई अलपत्र पारेको कुनै गुनासो उजूरी नआएको उहाँको जिकिर छ । यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उहाँले बताउनुभयो ।

दमौली शेरास्थित खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौंडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीसले बताउनुभयो । बिहान पानी माग्दै हिँडेपछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नुभो, अनि अहिले त गाडी चलेकै छ, किन सोध्नू भो भनेर चासो राखेपछि मजदूरको दुर्दान्त कथाको भित्री पाटो खुल्यो”, शिरीषले भन्नुभयो,“त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभएपछि खाजा, खाना र यातायात खर्च व्यवस्था गरेर घर पठाएका छौं ।” पैसा नभएको बैंकको चेक दिएको र मजदूरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology