• Thursday 30th of July 2026

दोस्रो चरणको खोप अभियान आजदेखि शुरु


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ ।

पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइएको थियो । उहाँका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई–तीन दिनपछि लगाइने छ ।

आगामी पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइने छ । “ पत्रकार र कूटनीतिक नियोगका कर्मचारीवाहेक अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “ दुई–तीन दिनपछि उनीहरुलाई पनि खोप लगाइने छ ।” अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । उहाँका अनुसार यस चरणमा करीब तीन लाख जनालाई खोप लगाइने छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो ।

पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोकलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालिएको छ । दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी गरेको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology