• Monday 27th of July 2026

वाणिज्य सङ्घको चुनाव : प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा


  • गोकर्णेश्वर अनलाइन

देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।

दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् । नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् ।

नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ । कार्यसमितिको अन्य पदमा दुवै नेकपा र राप्रपा समर्थक व्यवसायी उम्मेदवार बन्नुभएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता रोमणि भट्टराईले विर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा साझा उम्मेदवारको चयनले नेकपाका तल्लो तहका आम कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताउनुभयो ।

“आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन”, विर्तामोड उद्योग वाणिज्य सङ्घको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका संयोजकसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।”

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएका कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा शुरु भएको छ । नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन हुनुभएका युवा व्यवसायी भट्टराई व्यवसायीमाझ लोकिप्रय हुनुहुन्छ । उहाँ विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लाग्नुभएको छैन ।

यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी सङ्घको चुनावमा दुवै नेकपा विभाजित नभइकन साझा उम्मेद्वार चयन गर्न सफल भइसकेका छन् । दुवै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार निर्वाचित भएका छन् । बुधवार उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुवै समूहका उच्च तहका नेता हाँसीखुशी एउटै लहरमा मञ्चमा उभिनुभएको थियो । नेकपाको ओली समूहका १ नं प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल समूहका झापा जिल्ला सचिव एवं साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङलगायतका नेताले आफ्ना समर्थकलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

“वाणिज्य सङ्घको चुनावको विषयमा हामी दुवै समूहका नेता बारम्बार बैठकमा जुटेका छौँ”, चुनाव परिचालन समन्वय समितिका संयोजक भट्टराई भन्नुहुन्छ, “पार्टी फुटेको कुनै कार्यकर्तालाई पनि मन परेको छैन, झापाको यो निर्वाचनले केन्द्रमा शक्ति र पदको दम्भले फुटेका नेतालाई क्षति व्यहोर्नु अघि नै पुनः एकता हुन सन्देश दिएको छ ।”

यसैबीच नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । सङ्घको चुनावमा नेकपा–राप्रपा गठबन्धन र कांग्रेस समर्थित उम्मेद्वारको प्यानलबीच सोझो टक्कर छ । शिवाकोटीको नेतृत्वमा रहेका प्यानलको उम्मेद्वारी घोषणा कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापालगायतका नेता उपस्थित हुनुहुन्थ्यो ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा चार हजार ५५० मतदाता रहेका छन् । यसअघिको निर्वाचनमा नेकपा एक्लैले कांग्रेस र राप्रपाको समीकरणसँग चुनावी प्रतिष्पर्धा गरेको थियो । उसबेला नेकपा समर्थित उम्मेदवार पराजित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology