• Sunday 26th of July 2026

जुम्लामा यस वर्ष स्याउ उत्पादनमा कमी


  • गोकर्णेश्वर अनलाइन

जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु ३४ करोड बराबर स्याउको कारोवार भएको थियो । “गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो”, वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भन्नुभयो, “यस वर्ष ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्नुले किसान मर्कामा छन् ।” उहाँका अनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ फलेको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष गिरावट भइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक बताउँछन् ।

जुम्लामा विगत दुई÷तीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायतका कारणले स्याउ उत्पादनमा गिरावट आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताउनुभयो । हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । “अन्य खेतिपातीको काम छाडेर स्याउखेती गरिरहेका छौँ तर अपेक्षाकृत उत्पादन हुन सकेको छैन”, स्याउ किसान नर रावलले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology