• Sunday 26th of July 2026

वर्षा नहुँदा मकैखेती गर्न समस्या


  • गोकर्णेश्वर अनलाइन

यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती शुरु गर्ने भए पनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

अहिले मकैखेती गर्ने समय शुरु भए पनि एकपटक पनि वर्षा नभएपछि खेतीमा समस्या आउन थालेको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक कृष्ण खपाङ्गी मगर भन्नुहुन्छ, “फागुनको पहिलो हप्ताबाट नै खेतबारी जोत्ने काम सकियो, अब मकै छर्ने बेला शुरु भयो तर वर्षा नहुँदा अहिले खेती शुरु गर्न निकै समस्या भएको छ ।” गढी गाउँपालिका भलायाडाँडाका कृषक हितबहादुर अधिकारी पनि समयमा मकै खेती गर्न नपाएको गुनासो गनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यस पटक अहिलेसम्म एक पटक पनि वर्षा हुनसकेन, यस कारण मकैखेती गर्ने समय आए पनि सुख्खा खडेरीको कारण मकै छर्न समस्या हुन थालेको छ ।”

विगत वर्षमा पुस, माघदेखि वसन्तपञ्चमीभित्र दुई÷चारपटक वर्षा हुने गरेका कारण जमीन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक वर्षा नहुँदा समस्या आएको अधिकारी बताउनुहुन्छ । पहाडी क्षेत्रमा वर्षेनी फागुनको दोस्रो हप्तादेखि मकै छर्ने शुरु हुने गरे पनि अहिले फागुनको तेस्रो हप्ता जान लाग्दा पनि वर्षा नभएर खडेरी बढ्दै गएको कारण मकै छर्न ढिलाइ हुन थालेको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक विन्द्रबहादुर मगर बताउनुहुन्छ । दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भएको र खेती गरेको मकैको बिरुवासमेत मरेर नरहेपछि गतवर्ष मकैको बीउ छिमेकी जिल्ला धनकुट्टा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनु परेको कृषक बताउँछन् ।

जिल्लाको पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर रहँदै आएको कृषि ज्ञान केन्द्रले बताएको छ । उदयपुर जिल्लामा अठार हजार ४०० हेक्टर क्षेत्र जग्गामा मकैखेती हुँदै आएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology