• Sunday 26th of July 2026

कृषिमा फड्को मार्दै कनकाई नगरपालिका


  • गोकर्णेश्वर अनलाइन

झापाको कनकाई नगरपालिकाले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको हो । यसका लागि हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने कार्यलार्ई अगाडि बढाएको नगरपालिकाको प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने भएको हो ।

यहाँका युवा स्रोतसाधनको अभावका कारण आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर खाडी मुलुकमा आफ्नो श्रम बेच्न बाध्य भएको यथार्थलाई मध्यनजर गर्दै युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । “स्वदेशमै आत्मनिर्भर हुनसक्ने एक मात्र विकल्प कृषि क्षेत्र नै हो”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकास एवं विस्तारका लागि कृषकसँगको साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छ ।”

नगरका सबै वडामा खेतीयोग्य जमिनको माटो परीक्षण गरी अघिल्ला वर्षदेखि नै कृषि चुन, कृषिजन्य विभिन्न किसिमका औजार, बीउबिजनसमेत कनकाईका कृषक समूहलाई वितरण गर्दै आएको बताइएको छ । त्यस्तै पशु स्वास्थ्य बीमा, प्राङ्गारिक कृषि उत्पादनमा जोड, उत्पादन भएका कृषिजन्य सामाग्रीको बजारीकरणका लागि समेत कार्यक्रम अघि बढाएको नगरप्रमुख पोखरेलले प्रष्ट पार्नुभयो ।

बजारमा बिक्री हुन नसकेका कृषकका उत्पादनलाई उचित मूल्य निर्धारण गरेर नगरपालिकाले नै खरिद गर्ने गरी कार्ययोजनासमेत निर्माण गरेको बताइएको छ । नगरपालिकाले भर्खरै कनकाई–१ मा ६० टनसम्म सामग्री अटाउने शीतघर (कोल्डस्टोर) सञ्चालनमा ल्याएको छ । यस किसिमका शीतघरलाई क्रमिकरूपले अन्य वडामा समेत सञ्चालनमा ल्याउने योजना रहेको नगरप्रमुख पोखरेलले बताउनुभयो । त्यस्तै बेरोजगार युवालाई स्वरोजगार बनाउने काममा बिनाधितो ऋण लगानी गरी बैंक तथा वित्तीय संस्थासँगको सहकार्यका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको विद्युतीय स्प्रे ट्याङ्की वितरणको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले स्थानीय तहको जिम्मेवारी सम्हालेयता कनकाई नगरपालिकाबाट कृषि तथा पशुपालनमा कृषकलाई ऊर्जा दिने किसिमका कार्यक्रमलाई अघि बढाएको बताउनुभयो । नगरको विभिन्न वडामा रहेका कृषि समूह, व्यावसायिक तरकारी खेती गर्ने साथै सामूहिक खेती गर्ने कृषक र टोल विकास समितिबाट प्रतिनिधित्व गरेर आउने विभिन्न वडाका कृषक समूहलाई अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology