• Saturday 25th of July 2026

कोरोना कहर : राष्ट्रपति रनिङ शिल्ड स्थगित


  • गोकर्णेश्वर अनलाइन

बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो चरण फैलिसकेकाले त्यसको पनि प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेकाले कुनै पनि भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न भनेकाले प्रतियोगिता स्थगन गरिएको सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सङ्क्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गर्नुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा चैत १८ गतेदेखि, मेलौली नगरपालिकामा चैत २१ गतेदेखि सञ्चालन हुने तय भएको थियो । जिल्ला खेलकूद विकास समितिले यसअघि जिल्लाका स्थानीय तहलाई चैत २५ गतेभित्र उक्त प्रतियोगिता सम्पन्न गरिसक्नु पर्ने भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार यहाँका स्थानीय तहले प्रतियोगिताको मिति तय गरेका थिए ।

राष्ट्रिय खेलकूद परिषद् काठमाडौँबाट प्राप्त जानकारीअनुसार १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत मसान्तभित्र सक्न निर्देशन दिइएकाले स्थानीय तहमा २५ गतेसम्म सम्पन्न गर्न भनिएको थियो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहका माध्यमिक तहमा नियमितरुपमा अध्ययनरत १८ वर्षमुनिका छात्रछात्राले सहभागी हुन पाउँछन् । यसमा छात्रछात्रा भलिबल, कबडी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसो गरी छ खेलमा प्रतिस्पर्धा गराइन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology