• Sunday 26th of July 2026

ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु


  • गोकर्णेश्वर अनलाइन

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थाेडक्स चियाको उत्पादन शुरु गरेको हो ।

सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले ग्रीन टी र अर्थोडक्स चियाको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो । तत्कालीन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले रु एक करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन कारखाना निर्माण शुरु गरेको थियो भने उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागबाट रु ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो ।

दुई सहकारी संस्थाबीच एकता भएसँगै सहकारीले थप रु एक करोड रकम विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम शुरु गरेको हो । संस्थाले बंैकिङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल व्यवसाय यसअघि नै शुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय शुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

अध्यक्ष उप्रेतीले हाल अर्थोडक्स र ग्रीन टी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन गर्ने योजना रहेको बताउनुभयो । चालू आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको उहाँले बताउनुभयो ।

सहकारीले चिया उद्योग सञ्चालन गरेपछि स्थानीय चिया कृषक तथा सदस्य उचित मूल्य पाइनेमा आशावादी बनेका छन् । सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमासमेत निर्धारण गरेको छ । सहकारीले बैंकिङ व्यवसायतर्फ रु ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ रु २५ करोड, सहकारी पसल व्यवसायमा रु २५ करोड र चिया प्रशोधन व्यवसायमा रु पाँच करोड लगानी सीमा निर्धारण गरेको अध्यक्ष उप्रेतीको भनाइ छ ।

विसं २०५० मा २६ जना शेयर सदस्यको कूल दुई लाख ५३ हजार शेयर पूँजीबाट शुरु भएको सहकारी संस्थामा हाल रु एक लाख शेयर सदस्य छन् । रु एक अर्ब छ करोड शेयर रकम पुगेको छ । सहकारीले हालसम्म रु नौ अर्ब कर्जा लगानी गरेको छ भने रु ८५ अर्ब निक्षेप रहेको बैंकिङ व्यवसायका प्रशासनिक प्रमुख मनिष कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology