• Monday 27th of July 2026

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्


  • गोकर्णेश्वर अनलाइन

पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गर्नुभएको छ । नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जनाउनुभयो ।

त्यसैगरी उहाँले पीडित परिवारलाई प्रतिव्यक्ति रु २५ हजारका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताउनुभयो ।

त्यस्तै मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको जिकिर गर्दै हत्यमा संलग्नलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो । सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो । शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

तुलसीपुरको स्याउली बजारमा यह वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नंको कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका नौ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका सात वर्षका छोरा सुवर्ण र कृष्ण परियारका छ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ । कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पत्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology