• Monday 27th of July 2026

सरकार गठनका लागि कांग्रेसको पहलः जसपाको पूर्ण समर्थनका लागि पहल गरिने


  • गोकर्णेश्वर अनलाइन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सम्पूर्ण रुपमा लाग्ने निर्णय गरेको हो ।
बैठकले नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको र जनता समाजवादी पार्टी नेपालको पूर्ण समर्थनका लागि पहल जारी गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रतिनिधिसभामा विश्वासको मत अस्वीकृत भएसँगै राष्ट्रपतिले सोमबार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि यही वैशाख ३० गते साँझ ९ बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
सोमबार नै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, कांग्रेसका ६३ (दुई निलम्बित), माओवादी केन्द्रका ५३ (चार निलम्बित), जसपाका ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology