• Tuesday 28th of July 2026

कोरोना परीक्षण गाउँमै


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नगरपालिकाभित्र द्रूत गतिमा फैलिरहेको छ”, नगरप्रमुख खाँणले भन्नुभयो, “सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा रहेका नागरिकमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नाका साथै आवश्यक औषधि दिने गरिएको छ ।”

नगरपालिकाका विभिन्न गाउँमा विवाह, व्रतबन्ध, चौरासी पूजामा सहभागी भएकामा सङ्क्रमण बढी फैलिएको उहाँले बताउनुभयो । “गाउँगाउँबाट लक्षण देखिएपछि केही व्यक्ति गह्रौँ प्राथमिक अस्पतालमा आएर एन्टिजिन विधिबाट स्वाबको परीक्षण गराउनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुमा सङ्क्रमण पुष्टि भएमा स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गर्ने र आवश्यक औषधि सोही ठाउँमा उपलब्ध गराउँदै आएका छौँ ।”

होम आइसोलेशनमा बस्दा पालना गर्नुपर्ने नियमबारे सङ्क्रमितलाई जानकारी गराउने गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । “हामीले स्वाब परीक्षण गरेपछि सङ्क्रमण देखिएकालाई औषधि दिएर होम आइसोलेशनमा बसाल्छौँ”, उहाँले भन्नुभयो, “औषधि खाँदाखाँदै पनि श्वास फेर्न गाह्रो हुने लगायतका कुनै पनि थप समस्या देखिएमा हामीले तत्काल एम्बुलेन्समार्फत अस्पतालमा ल्याएर उपचार गर्छौं ।”

नगरपालिकाले वालिङस्थित प्राथमिक अस्पतालमा अक्सिजनसहितको सुविधासम्पन्न ३५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । “विवाह, पूजालगायत कार्य तथा विदेशबाट आएकामध्ये धेरैजसो अहिले आ–आफ्नै घरमा बस्नुभएको छ भने केही सङ्घसंस्था तथा विद्यालयमा बस्नुभएको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितहरुलाई घर–घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र औषधि वितरण गर्ने कार्यमा नगरप्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि पनि सँगसँगै जाँदा सङ्क्रमितमा उत्साह थपिएको महसुस गरेका छौँ ।”

नगरपालिकाले होम आइसोलेशनमा रहेका नागरिकलाई टिपिओ नेपालको सहयोगमा दैनिक मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology