• Monday 27th of July 2026

जबजले हामी सबैलाई मार्गदर्शन गरिरहेको छ : मुख्यमन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरिरहेको बताउनुभएको छ ।

जननेता मदन भण्डारी तथा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक वक्तव्य जारी गर्दै पौडेलले कुशल सङ्गठक आश्रितले तयार पारेको जनतामा आधारित बलियो सङ्गठानिक आधारका कारण जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ता भएको पार्टी नेकपा (एमाले) जीवन्त रहेको उल्लेख गर्नुभएको छ ।

“नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्दर्भमा देश र जनताको हितका लागि उहाँहरुले पु-याउनुभएको अमूल्य योगदानको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलले भन्नुभएको छ ।

विसं २०५० जेठ ३ गते पोखराबाट फर्कने क्रममा चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा उहाँहरुको मृत्यु भएको थियो । “कम्युनिष्ट आन्दोलनलाई शास्त्रको जडताबाट मुक्त गरी जीवन र व्यवहारसँगै जोड्दै जबजमार्फत नेपाली क्रान्तिको मौलिक मोडल प्रस्तुत गर्नुभएका जननेता भण्डारीलाई अमेरिकाबाट प्रकाशित ‘न्युज विक’ पत्रिकाले नेपालको कार्ल माक्र्सका रुपमा चित्रित गरेको थियो”, पौडेलले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने मात्र होइन, जनताका जीवन्त सवालहरुमा उहाँले प्रस्तुत गर्नुभएको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको वर्णन गर्नुभएको छ । “कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टीहरुले समेत जनताको बहुदलीय जनवादको अन्तर्यलाई आत्मसात् गर्दै अघि बढेको देखिन्छ, यसले जबजको सच्चाइ र सान्दर्भिकतालाई पुष्टि गर्छ”, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology