• Monday 27th of July 2026

पालिकाहरु खोप खरीद गर्ने तयारीमा


  • गोकर्णेश्वर अनलाइन

जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन् ।
सङ्घीय सरकारलाई खोप उपलब्ध गराउन अनुरोध गरेको बताउँदै नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भन्नुभयो, “यदि सरकारले उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइनेछ ।” अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको प्रमुख तामाङले बताउनुभयो ।
नगरपालिकाभित्र सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित दर्जन कर्मचारीहरु पीडित बनिसकेका छन् ।
त्यसैगरी हेलम्बु गाउँपालिकाले केन्द्रीय सरकारसँग खोपको माग गरेको र उपलब्ध गराउन नसके पालिकाले खरीद गर्न अनुमतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँ पनि कोरना सङ्क्रमणबाट पीडित भइसक्नुभएको छ भने पालिकाभित्र सङ्क्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology