• Sunday 26th of July 2026

चैते धानको उचित मूल्य नपाउँदा किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

दमक, २६ जेठ (रासस ) : चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् ।

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको हो । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरिदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ ।

यहाँका किसान गत फागुन र चैतमा चैते—२ , चैते—४ र विजी जातको चैते धान लगाएको थियो । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् । गौरीगञ्ज गाउँपालिका—१ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रु ७ सय ५० बिक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजार मूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।”

यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज— १ महामाराका किसान धनपति पौडेलले बताउनुभयो । प्रतिमन न्यूनतम रु ८०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रु ६०० मा पनि धान खरिद गर्न आनाकानी गर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।”

गल्ला व्यापारी र धान मिल सञ्चालक र विचौलियाको मिलोमतोमा चैते धानको आफूखशी बजार मूल्य निर्धारण गर्दै आएकाले किसान मार्कामा परेको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौलाले बताउनुभयो । दुई विगहामा चैते धान लगाउनुभएका नेता सिटौलाले यो वर्ष पनि किसानले उत्पादन गरेका धान प्रतिक्वीन्टल रु एक हजार ५०० सम्म पनि पाउन नसकेको अवस्था रहेको बताउनुभयो । लागत अनुसार मूल्य नपाउँदा धान खेतीबाट किसान पलायन हुन थालेको उहाँको भनाइ छ ।

समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने कमल गाउँपालिका—७ बाह्घरेका किसान विदुुर गिरीले वताउनुभयो । गौरीगञ्ज—१ का वडासचिव भोजकुमार अधिकारीले बजारमा सबै बस्तुको मूल्य आकासिएको तर किसानले दुःख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धानको उचित मूल्य नपाउनु किसानका लागि ठूलो चिन्ताको विषय हो, यसप्रति सरकार गम्भीर हुनैपर्दछ ।”

विचौलियाको भरमा धानको मूल्य निर्धारण हुने गरेकाले कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताउनुभयो । मुलुकमा वर्षेनि करिब रु ३३ अर्व बराबरको कृषि उपज भारत तथा बङ्गलादेशबाट भित्रिने गरेको छ । यहाँको कृषि उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य अझै हुन नसकेको उहाँको भनाइ छ ।
२१ हजार हेक्टरमा चैते धान

जिल्लामा २१ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धानको खेती हुदै आएको छ । सबैभन्दा बढी जिल्लाको कन्काई सिञ्चाई आयोजना क्षेत्रमा चैते धानको खेती हुँदै आएको छ । कन्काई नहरको पँहुचमा रहेका शिवसतासी, गौरीगञ्ज, गौरादह तथा कमल गाउँपालिकाका केही स्थानहरुमा चैते धानको अत्यधिक हुने गरेको बताइएको छ । यसैगरि जिल्लाको बनियानी, कचनकवल, झापा गाउँपालिका, बिर्तामोड, बुधबारे, दमक क्षेत्रमा पनि साना सिंचाई तथा भूमिगत सिंचाईबाट पनि चैते धानको खेती हुँदै आएको छ । चैते धान प्रतिहेक्टर ५ दशमलव ६ मेट्रिक टन उत्पादन हुँदै आएको छ । पछिल्ला दिनमा सिंचाई र जोत्नका लागि आधुनिक प्रविधिका ट्याक्टर, थ्रेसर तथा पावर टिलरको बढ्दो प्रयोगले समेत धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तर लागत अनुसारको उचित मूल्य नपाउँदा यसतर्फ किसान निरास हुँदै गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology