• Monday 27th of July 2026

तेमालको गाउँसभा पटक–पटक स्थगित


  • गोकर्णेश्वर अनलाइन

आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक–पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो ।

गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते गाउँसभा आयोजना गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तथा अघिल्लो दिन तयारी बैठक राख्ने निर्णय गरेको थियो । गाउँसभाको अघिल्लो दिनको बैठकमा नै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले नीति तथा कार्यक्रम र बजेट पास गर्ने प्रस्ताव गरेपछि उपस्थित जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

नीति तथा कार्यक्रम र बजेट अध्ययन नगरी पास नगर्ने’ जनाएपछि विवाद शुरु भएको दुई नंका वडाध्यक्ष तिमालसिं तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययन नगरी गाउँसभाको आयोजना नै नगरी कसरी बजेट पास गर्न सकिन्छ भनेर अघिल्लो दिनको बैठकमा असहमति जनायौँ, त्यसपछि विवाद बढ्दै जाँदा गणपूरक सङ्ख्या नपुग्दा गाउँसभा स्थगित हुँदै गयो ।”

असन्तुष्ट गाउँपालिकाका जनप्रतिनिधिले आइतबार नै पत्रमार्फत सहमतिका लागि बैठक बोलाउन आग्रह गर्दा अध्यक्षको आदेशमा कर्मचारीले पत्र दर्ता गर्न मानेका थिएनन् । सत्ताइस जनप्रतिनिधिद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “विगतका गरिएको सहमति र सहकार्यको महत्वपूर्ण अभ्यास विपरीत बहुमत सदस्यको सल्लाह र सुझावलाई समेत बेवास्ता गरी अध्यक्षले एकलौटी र मनोमानी ढङ्गले स्थानीय सरकार सञ्चालन ऐन विपरीत दुराशयपूर्ण कदमका कारण हामीले नीति तथा कार्यक्रम र बजेटप्रति असहमति जनाएका हौँ”, उल्लेख गरिएको छ ।

बहुमत रहेका २७ जनप्रतिनिधिले प्रजातान्त्रिक अभ्यासबाट गाउँसभा सञ्चालन गर्न माग गर्दै आएको पत्रमा जनाइएको छ । अध्यक्ष तामाङले प्राविधिक समस्याका कारण दुईपटक गाउँसभा स्थगित भएको मात्रै प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “केही प्राविधिक समस्याले गाउँसभा स्थगित भयो, म उहाँहरुसँग छलफल गर्ने वातावरण मिलाउँदैछु ।” आइतबार पनि गणपूरक सङ्ख्या नपुगेपछि पुनः स्थगित भएको गाउँसभा मङ्गलबार आयोजना गरिने जनाइएको छ ।

नौ वडा रहेको तेमालमा ४९ जनप्रतिनिधिमध्ये नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) का २७ र बाँकी नेपाली कांग्रेसलगायत अन्य दलका छन् । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका तेमालबाहेक अन्य तहको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology