• Monday 27th of July 2026

प्रन्याको प्रश्नः एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, २१ असार (रासस) : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उहाँले सो प्रश्न गर्नुभएको हो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ ?” जवाफमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भन्नुभयो, “अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ, एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् ।”

वरिष्ठ अधिवक्ता दाहालले वैकल्पिक सरकार दिनकै लागि अदालतमा आएको र वैकल्पिक सरकार बनेसम्म संसद् विघटन गर्न नपाइने तर्क गर्नुभयो । सरकारी पक्षले भनेजस्तो केरमेट गरेको र अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर प्रयोग गरिएको भन्ने आरोप गलत रहेको उहाँको तर्क थियो ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले दलले सरकार गठन गर्न नसक्ने स्थिति भएपछि दलभित्रकै सदस्यले नेपाली कांग्रेसका शेरबहादुर देउवाले बहुमत सांसद सङ्ख्यासहित संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्नुपर्ने अवस्था आएको तर्क गर्नुभयो ।

संविधानको धारा ७६(३) बमोजिम ३० दिनलाई नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउँदैन भने स्वतः पदमुक्त भएपछि धारा ७६(५) को प्रक्रिया शुरु हुने हुँदा धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले निवेदन हाल्नै नमिल्ने उहाँको तर्क छ । जवाफी बहसकै क्रममा अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस शुरु गर्नुभएको छ । बहस जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology