• Sunday 26th of July 2026

रैथाने बाली संरक्षण : सात पकेट क्षेत्र निर्धारण


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातवटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।

“स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको हो”, उहाँले भन्नुभयो । यहाँ फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातवटा पकेट क्षेत्रमा निर्धारण गरिएको उहाँको भनाइ थियो ।

सङ्घीय सरकारबाट गाउँपालिको स्यालागडी गाउँमा फापर, पेरेमा सिमी र कालीमार्सी धान, लुममा चिनो कागुनो, लोर्पामा ओखर, उर्थुमा तरकारी र पट्मारामा आलु पकेट क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । गाउँपालिको सातवटै वडामा पकेट क्षेत्रमा पाँच हेक्टर जग्गा रहेको छ । फापर खेतीमा रु सात लाख ७० हजार, सिमीमा रु पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि रु ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा रु ४८ लाख पाँच हजार, ओखरखेतीमा रु पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रतिर रु ४८ लाख पाँच हजार बजेट छुट्याइएको उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लासँग सहकार्य गरी पातारासी–७ पट्मारामा भेडापालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालीको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरी रोजगारी सिर्जना गर्ने चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समूहका सचिव रेविका सुनारले बताउनुभयो । पकेट क्षेत्रको निर्धारणले यहाँको कृषि बालीको प्रवद्र्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा, नास्ताका रूपमा प्रयोग गर्न थालेपछि यहाँका किसानमा उत्साह थपिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology