• Monday 27th of July 2026

सरकारले संयमित भएर काम गर्नुपर्छ : डा महत


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राख्नुभयो ।

नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताउनुभयो ।

सहमहामन्त्री डा महतले भन्नुभयो “धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौँ, त्यहीअनुरुप संयमित रुपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँकतै पनि प्रश्न गर्ने ठाउँ दिनुहुँदैन”, नेता महतले भन्नुभयो ।

उहाँले मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र समपर्ण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिष्टहरुमा नदेखिएको आरोप पनि लगाउनुभयो । उहाँले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताउनुभयो ।

नेपाली काँग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँकतै त्रुटि नगरी सजग भएर पाइला चाल्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले यो अवस्थामा नेपाली काँग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पङ्क्तिलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न निर्वाचन, पेशागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो निर्वाचनलगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । नेता डा महत आजै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं १ का पार्टी सभापति एवं गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको १२औँ दिनको पुण्यतिथीमा आयोजित शोकसभामा पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology