• Saturday 25th of July 2026

कृषिमा भविष्य खोज्दै पोखरेली युवा


  • गोकर्णेश्वर अनलाइन

कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् ।

वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताउनुभएका पोखरा–१६ अर्मला टारीबिसौनाका शङ्कर गुरुङले यतिखेर निजी जग्गामा टिमुर, अलैँची, कफी, एभोकाडो र किवीलगायतका जडीबुटी एवं फलफूल रोप्न व्यस्त हुनुहुन्छ ।

दशवर्षे विदेशको बसाइले उहाँमा स्वदेशमा नै केही गर्नुपर्दछ भन्ने पाठ सिकायो नै, गरे के हुँदैन भन्ने सन्देश पनि दिन खोजेको छ । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाँडी रहेको सात रोपनी जग्गामा नगदे बालीका बिरुवा रोपेको उहाँका भनाइ छ ।

उहाँका अनुसार एक दशकदेखि बाँझिएको जग्गामा टिमुरका १५०, अलैँचीलगायत कफी, किवी, एभोकाडो, अम्बा, कागतीलगायत विभिन्न जातका एक हजारभन्दा बढी बिरुवा रोपेको बताउनुभयो । परीक्षणका रूपमा लगाइएको बिरुवाले दिने उत्पादनका आधारमा बाँकी जग्गामा पनि अन्य आयआर्जन गर्न सकिने नवीनतम प्रजातिका फलफूलका बिरुवा लगाउने सोचमा रहेको उहाँले बताउनुभयो ।

क्यानाडाबाट स्वदेश फर्केपछि पर्यटकीयस्थल पोखराको लेकसाइडमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँ भन्नुभयो, “कोभिडको कारण पर्यटन व्यवसायसमेत ठप्प भएपछि गाउँ फर्केर कृषि कर्ममा लाग्न मन जागेको हो ।”

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष कतारमा बिताएर स्वदेश फर्कनुभएका अर्मलाकै अर्का युवा किरण गुरुङले आप्mनो लगभग सात रोपनी जग्गामा विभिन्न फलफूलका बिरुवा रोप्नुभएको छ । विदेशबाट फर्केसँगै पोखराको पर्यटकीयस्थल चमेरे गुफामा कोल्डस्टोर्स पसल सञ्चालन गर्नुभएका उहाँले तीन हजार ५०० अलैँची, १५० कफी, ६० टिमुर, २० एभोकाडो र १५ वटा कागतीका बिरुवा रोप्नुभएको हो । हुर्केका बिभिन्न प्रजातिका रुखमा औषधीय गुण भएको मरिचका बिरुवा लगाउने तयारी गरेको उहाँको भनाइ छ ।

उहाँहरू त प्रतिनिधि पात्र हुन्, उहाँहरूजस्ता यस क्षेत्रका धेरै विदेशबाट फर्केका युवालगायत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ ४० घरपरिवारले ५०० रोपनी जग्गामा कृषि वनको अवधारणा अपनाएका छन् । डिभिजन वन कार्यालयद्वारा राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत निःशुल्करूपमा आवश्यक बिरुवा र खाल्टा खन्नका लागि समेत रकम उपलब्ध गराएपछि बाँझिएको जग्गाको उपयोग गर्दै आयआर्जनका लागि विभिन्न जातका बिरुवा रोप्ने प्रेरणा उनीहरूमा जागेको हो ।

अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानअन्तर्गत हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकाडो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिणाममा राइखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

कुरबाट डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका बिरुवा क्रमिक रोप्दै आएको बताउँदै उहाँले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य रहेको कृषि वन समूहका सचिव जीतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कृषि वन प्रवद्र्धनमा युवा वर्गले देखाएको उत्साहलाई जीवित राख्न आवश्यक तालिम तथा बजारीकरणमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology