• Saturday 25th of July 2026

आलु रैथाने बाली प्रवद्र्धनमा सफलता


  • गोकर्णेश्वर अनलाइन

स्थापना भएको पहिलो वर्षमै कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धि हासिल गरेको दाबी गरेको छ । गत वर्ष सञ्चालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९.४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्याङ्कमा छ । आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत तीन हजार केजी आलुको बीउ लगाएर ३०० रोपनीमा २१० मेट्रिक टन आलु उत्पादन गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिनुभयो । उक्त कामका लागि रु सात लाख ५० हजार बजेट थियो । किसानले उत्पादन गरेको आलु बजारमा बिक्रीसमेत गरेका छन् ।

बागलुङको काठेखोला, ढोरपाटन नगरपालिका, तमान र निसीखोलालगायतका सबै पालिकामा आलुखेती विस्तार भएको हो । अघिल्लो वर्षभन्दा यो वर्ष आलुको उत्पादन बढेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

‘‘कृषि प्राविधिकको सल्लाह, बीउ तथा औषधिको उचित प्रयोग जस्ता कारणले उत्पादन बढेको छ’’ पुनले भन्नुभयो, ‘‘ज्ञान केन्द्र स्थापनाले किसानले समयमै समस्याको समाधान पनि गर्न पाएका छन् ।’’ अघिल्ला वर्ष किसानले अनुदान नपाउने, प्रविधि र उन्नत बीउसमेत पाउन नसकेकोमा केन्द्र स्थाना भएपछि यो सहज भएको उहाँले बताउनुभयो ।

रैथाने बाली संरक्षण कार्यक्रममा पनि ९८ प्रतिशत सफलता पाएको कार्यालयको तथ्याङ्क छ । ६ वटा समूहले १५० रोपनीमा रैथाने बाली लगाउने कार्यका लागि १५ लाख बजेट थियो । मकै, भटमास र चैते धानखेती विस्तार कार्यक्रममा पनि १५ लाख खर्चेर ९० प्रतिशत सफलता पाएको कार्यालयले तत्थाङ्क निकालेको छ । उक्त कार्यक्रममा ६ वटा समूहले २०० रोपनीमा मकै, ६० रोपनीमा भटमास खेती गरेका थिए । दुई सय ९२ रोपनीमा तरकारी खेती विस्तार भएको र उक्त स्थानमा चार हजार १३० वर्गमिटर प्लाष्टिक टनेल विस्तार भएको पुनले जानकारी दिनुभयो ।

‘‘ज्ञान केन्द्र आएपछि हामीले नियमित प्राविधिक सल्लाह र खेती विस्तार गर्न सकेका छौं’’ बागलुङ नगरपालिका–३ का अगुवा किसान गङ्गाबहादुर थापाले भन्नुभयोे, ‘‘गाउँ गाउँका किसानले पनि प्राविधिक ज्ञान पाउन थालेकोले उत्पादन बढ्ने क्रम छ ।’’ अन्न, तरकारी र कोसेबालीमा पनि किसानको पहुँच बढेको उहाँले बताउनुभयो ।

गतवर्ष २२ लाख ५० हजारको लागतमा कार्यालयले ३ वटा कृषि उपज संकलन केन्द्रसमेत बनाएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । कृषि मोडेल फर्म विस्तार कार्यक्रमअन्र्तगत कार्यालयले १८ वटा फलामे टनेल, ३ सय मौरीका गोलाघार, ३० रोपनीमा केरा र २० रोपनीमा सुन्तला खेती विस्तार गरेको हो । सिताके च्याउको एक फर्म बिस्तार भएको छ । सिताके च्याउ काठेखोला र निसीखोलामा बिस्तार गरिएको हो ।

त्यस्तै सुन्तला खेती बागलुङ नगरपालिका–८ को सिगाना र जैमिनी–४ को सर्कुवामा विस्तार गरिएको थियो । त्यसबाट ३७ मेट्रिक टन तरकारी उत्पादन, ३ मेट्रिक टन सिताके च्याउ, २ दशमलब ७ मेट्रिक टन मह, ६ मेट्रिक टन सुन्तला र ३ मेट्रिक टन किबीसमेत उत्पादन भएको उहाँले जानकारी दिनुभयो । त्यसबाट किसानले लाखौं आम्दानी गर्न सकेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष रु ११ करोड १५ लाख ४० हजारको लागतमा ती क्रियाकलाप सम्पन्न भएका हुन् । कार्यालयले जिल्लाका १० वटै पालिका तहमा पुगेर यान्त्रिकरण, ब्लक निर्माण, साना व्यावसायिक कृषि फर्म निर्माण तथा सञ्चालन, साना सिचाइँ कार्यक्रम र ग्रिन हाउस निर्माण कार्यक्रममा लगानी गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology