• Monday 5th of October 2026

नेता नेपालसहित १४ सांसद्द्वारा कारबाही नगर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

एमालेले राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेको जनाए पनि आफूहरुले उक्त कानुन विपरीत हुने गरी कुनै कार्य नगरेकाले कारबाही नगर्न आज आग्रह गर्दै ती सांसदले माग गरेका हुन् । कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहनुभएको छ । एमालेमा असन्तुष्ट रहँदै आएको सो पक्षले नयाँ अध्यादेशबमोजिम आजै नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology