• Monday 27th of July 2026

कांग्रेसको चुनावी चहलपहल तीव्र


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।

लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ । पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिकाका स्थानीयवासी दीपककुमार विष्टले जानकारी दिनुभयो ।

पार्टीले यही भदौ १८ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख तथा कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन हुँदैन कि भन्ने कुराले कार्यकर्तामा निरासा थियो, अब हुने निश्चित भएपछि नेताहरु पनि जिल्ला आएका छन्, चहलपहल पनि बढेको छ भने कार्यकर्तामा खुशीयाली छाएको छ ।”

वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले पनि जिल्लामा हतारहतारमा भेला र छलफल हुन थालेको कांग्रेस युवानेता तथा केआइसिंह गाउँपालिकाका स्थानीयवासी पदम रावलले बताउनुभयो । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुरलगायतका ठाउँमा अहिले प्रायः काग्रेस नेता तथा कार्यकर्तामात्रै देखिने गरेका छन् ।

जिल्ला पार्टी सभापति प्रदीपकुमार देउवाले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको जानकारी गाराउनु भएसँगै कांग्रेस अधिवेशनले चर्चा पाएको हो । पछिल्लो समय यहाँका नौवटै स्थानीय तहमा रहेका कांग्रेस नेताहरुले आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गर्न सुरु गरेका छन् । वडा अधिवेशनका लागि मात्रै भए पनि जिल्लामा खासै देखा नपर्ने नेताहरू अहिले जिल्लामा आएका शिखर नगरपालिका–१ का दीपकबहादुर बोगटीले जानकारी दिनुभयो ।

जिल्लाका नौवटै स्थानीय तहका सबै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको पार्टीका पूर्वसभापति वीरबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहका गाउँ कमिटीमा सहमति गरेरै नेतृत्व चयन गरिने योजना रहेको छ । वडागतरूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्नेबारेमा अहिले यहाँका गाउँमा छलफल सुरु भएको नेविसङ्घका पूर्वअध्यक्ष तथा युवानेता सोपानसिंह बोहराले बताउनुभयो ।

कांग्रेस महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारीसमेत तोकिसकेको छ । केन्द्रले निर्वाचनका लागि पठाएका आवश्यक कागजात तथा सामग्री जिल्लामा आउँदै गरेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा अहिले निकै चर्चा परिचर्चा सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology